प्रहरीका १९ जना डीएसपीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका १९ जना डीएसपीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित


काठमाण्डु – गृह मन्त्रालयका सचिवस्तरको चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने डीएसपीहरूमा निर्मल पनेरु, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाय, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबाबु राई, रूकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रही खरो रूपमा उत्रिन उनले निर्देशन दिए ।

नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसूस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘सांगठनिक सुदृढीकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।’

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी, इमान्दारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यावसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।