काठमाण्डु – नेपाल पुलिस क्लबले महिला गोल्डकपको उपाधि जितेको छ ।
आरएस पोखरा फूटबल क्लबको आयोजनामा पोखरामा पहिलोपटक आयोजना भएको पोखरा महिला गोल्डकप प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
१० खेलाडीमा सीमित आर्मीविरुद्ध टाइब्रेकरमा पुगेर संघर्षपूर्ण जीत निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । उपविजेतामै चित्त बुझाएको आर्मीले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।
आईतबारको खेलमा पुलिसले आर्मीविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । पहिलो हाफबाटै १० खेलाडीमा सीमित आर्मीले पुलिसलाई अन्तिमसम्म डटेर सामना गर्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
खेलको २७औँ मिनेटमा आर्मी १० खेलाडीमा सीमित भएको थियो । पुलिसकी निर्मला विकलाई आर्मीकी डिफेन्डर विमला विकले डी एरियामा लडाएपछि रेफ्री रातो कार्ड देखाउँदै बाहिर पठाएकी थिइन् ।
त्यसपछिको खेलमा आर्मी रक्षात्मक बनेको थियो । आर्मीविरुद्ध आक्रामक बनेको पुलिसले ६३औँ मिनेटमा गोल गर्ने उत्कृष्ट अवसर खेर फाल्यो । रेखा पौडेलले गरेको प्रहारमा आर्मीकी गोलकिपर कोपिला खड्का बाधक बनिन् ।
६९औँ मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो भने त्यसको ६ मिनेटपछिको ७५औँ मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८०औँ मिनेटमा अनुस्काको प्रहारमा आर्मीकी गोलकिपर कोपिला बाधक बनिन् ।
१० खेलाडीमा सीमित भए पनि आर्मीले केही गोलको अवसर निकालेको थियो । तर सदुपयोग गर्न नसक्दा ऐतिहासिक जीतसहित उपाधि जित्ने मौका गुमायो । खेलको ३७औँ मिनेटमा आर्मीकी हिमा चौधरीले प्रहार गरेको बललाई गोललाईन नजिकबाट विपक्षी खेलाडी समीक्षा घिमिरेले बचाइन् । ८१औँ मिनेटमा चन्द्रा भण्डारीको प्रहारमा उषा बाधक बनिन् । ८८औँ मिनेटमा आर्मीले गोल गर्ने स्वर्ण अवसर गुमायो । चन्द्राको पासमा हिमाको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो ।
आईतबारको खेलमा नेपाल पुलिसकी समीक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन् ।
यसैबिच प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३० हजारसहित ट्रफी जित्न सफल भइन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा पुलिसकी उषा नाथ, प्रतियोगिता अवधीभरमा ५ गोल गरेकी रेखा पौडेल सर्वाधिक गोलकर्ता र अनुसासित टीमको पुरस्कार आयोजक आरएस पोखरा फूटबल क्लबले प्राप्त गरेको छ ।




प्रतिक्रिया