मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आईतबार आयोजित समारोहबिच लागूऔषध विरुद्धको महाअभियान २०८३ कार्यक्रम शुभारम्भ भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित कार्यक्रमको सुरुमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरूद्धको सचेतनामूलक प्लेकार्डसहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी र्याली जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजवंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल सरकार गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव एवं लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे, एबीसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध विरुद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरूवात गरेको यस महाअभियान लागूऔषधविरुद्ध सक्रिय हुँदै देशव्यापीरूपमा अघि बढ्न सफल हुने बताए । समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागूऔषधको जालोलाई तोड्न अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै उनले सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताए ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा कोशी अस्पतालकी डा. अजिता पौडेलले लागूऔषध दुर्व्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गरेका थिए ।
कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटकसहित लागूऔषधविरुद्ध सचेतनामूलक सांगीतिक प्रस्तुतिहरूका साथै लागूऔषध दुर्व्यसन र प्रभाव सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेशका प्रमुख सचिव, जिल्लास्थित नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरू, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका न्यायाधीशहरू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरू, बैंक, वित्तीय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज, बुद्धिजीवी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।




प्रतिक्रिया