ट्राफिक जरिवानाको २५ प्रतिशत ट्राफिकले पाउँदैनन्ः नेपाल प्रहरी

ट्राफिक जरिवानाको २५ प्रतिशत ट्राफिकले पाउँदैनन्ः नेपाल प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ट्राफिक नियम उल्लंघनबापत् असुल हुने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले विशेष भत्ताका रूपमा पाउने भन्ने दाबी निराधार रहेको नेपाल प्रहरीले स्पष्ट गरेको छ ।

प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लंघनबापत् संकलन हुने सम्पूर्ण जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने र त्यसबाट ट्राफिक प्रहरीले कुनै अतिरिक्त सुविधा वा प्रतिशतका आधारमा भत्ता पाउने कानुनी व्यवस्था नरहेको बताएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले काटेको जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउँछन्ँ भन्ने समाचार तथा टिप्पणीहरू सार्वजनिक भएको र त्यो सत्य नभएको बताएका हुन् ।

आधिकारिक पुष्टि बिना प्रकाशित/ प्रसारित यस्ता समाचार वा सूचनाले नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा असर पर्ने तथा प्रशासनिक प्रक्रियामा अनावश्यक विवाद उत्पन्न हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेको छ ।