काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबिच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ ।
नेपाल प्रहरीको रणनीतिक योजना, २०८३–२०८५ मा परिकल्पना गरिएको ‘स्मार्ट पुलिसिङ, सेफर कम्युनिटी’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्न काठमाण्डु उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूबाट भएका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन, अपराध अनुसन्धान र मानवस्रोत व्यवस्थापनमा आधारित रही प्रभावकारी प्रहरी सेवा प्रवाह, उपलब्धि, विद्यमान चुनौती तथा भावी रणनीतिका सम्बन्धमा गहन विमर्श, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्न समीक्षा बैठकको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मुलुक प्राकृतिक विपद्जन्य परिस्थितिबाट गुज्रिरहेको यस संवेदनशील समयमा बाढीपहिरो तथा विपद् उद्धार कार्यमा कर्तव्य निर्वाह गर्ने क्रममा जीवन गुमाएका नेपाल प्रहरीका वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूले गरेको बलिदान, त्याग र साहस सबै प्रहरी कर्मचारीहरूका लागि कार्यक्षेत्रमा प्रेरणाको स्रोत बनिरहने बताए ।
आईजीपी कार्कीले बैठकमा उठेका विषयहरूलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, देखिएका कमी–कमजोरीहरूलाई सुधार गरी आगामी दिशा तय गर्ने तथा केन्द्र र प्रदेशबिच एकरूपता कायम गरी वर्तमान सुरक्षा परिवेश र आगामी प्राथमिकताबिच स्पष्ट सम्बन्ध स्थापना गर्ने मञ्चको रूपमा समीक्षा बैठकलाई स्थापित गर्नुपर्ने बताए ।
आईजीपी कार्कीले अपराधको प्रवृत्ति बुझेर जोखिममा आधारित प्रहरी परिचालन, प्रमाणमुखी, वैज्ञानिक र समयसापेक्ष अनुसन्धान, प्रविधिको रणनीतिक उपयोग, योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्व तथा नागरिकसँगको विश्वास र साझेदारीलाई प्राथमिकतामा राखी भावी कार्यदिशा तय गर्दै अगाडि बढ्नुपर्ने बताए । आफ्नो जिम्मेवारी क्षेत्रको सामाजिक, धार्मिक, राजनीतिक र आर्थिक परिवेशहरूको मूल्यांकन गरी भरपर्दो सूचना संकलनको माध्यमबाट एकीकृत सुरक्षा योजना बनाई सक्रियताका साथ कार्यसम्पादन गर्नुका साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हकमा अझ संवेदनशील भई कार्य गर्न उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानव स्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौतीहरू तथा समाधानका उपायहरू, नेपाल प्रहरी रणनीति योजना कार्यान्वयनको अवस्था र भावी योजना लगायतका विषयहरूमा प्रस्तुतीकरण गरेका थिए ।
प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन करारको वार्षिक प्रगतिको समीक्षाका साथै कार्यसम्पादन सम्झौता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका साथै सुधारका क्षेत्रहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेको कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिएका थिए ।
सो अवसरमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, वैज्ञानिक र प्रभावकारी अनुसन्धान, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतीहरू तथा सामना गर्न अपनाइएका उपायहरू र विपद् व्यवस्थापनको विषयहरूमा छलफल भएको थियो । विगतको अनुभव र असल अभ्यासको आदानप्रदानमार्फत प्रहरी सेवामा सुधार गर्दै समग्र संगठनात्मक सुधारका बारेमा समेत बृहत् छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।




प्रतिक्रिया