स्थानीय तहका आफ्नै प्रहरी


तम्घास – गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् ।

जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट दुई महिला र तीन पुरुष गरी पाँच नगरप्रहरी नियुक्त गरेको थियो । तीमध्ये एक जनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ । प्रहरी सहायक निरीक्षकका लागि रु १५ हजार र जवानका लागि १२ हजार पारिश्रमिक निर्धारण गरिएको छ ।

साथै मासिक तीन हजार रासनभत्ता पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए । “स्थानीय तहमा कामको गुणस्तर र सेवा प्रवाहलाई निकै चासोका साथ हेर्ने गरिन्छ ।” उनले भने, “सहजरूपमा सेवा प्रदान गर्न नगरप्रहरी नियुक्त गरेका छौँ ।” प्रहरी भएपछि गाउँपालिकाको प्रशासनिक कामदेखि अन्य काममा सहयोग पुगेको र केहीले रोजगारीसमेत पाएको प्रतिक्रिया पोखरेलले दिए ।

रेसुङ्गा नगरपालिकाले सात नगरप्रहरी नियुक्त गरेको छ । तीमध्ये एक हवल्दार र बाँकी छ जवान छन् । नियुक्त गरिएकामध्ये दुई महिला र पाँच पुरुष छन् । सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाइ, कार्यालय सुरक्षा, बजार अनुगमनलगायत नगरप्रहरीका मुख्य काम हुन् ।

यीबाहेक हाटबजार, कार्यालयमा सहयोगीको भूमिका खेल्ने तथा आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । नगरपालिकाले प्रहरी हवल्दारका लागि मासिक १५ हजार र जवानका लागि मासिक १३ हजार पारिश्रमिक निर्धारण गरेको छ ।

त्यसबाहेक वार्षिक दुई जोर कपडा र रासनभत्तास्वरुप मासिक तीन हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । अहिले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका पनि नगरप्रहरी भर्नाको प्रक्रियामा गएका छन् । इस्मा गाउँपालिकाले यही फागुन २९ गतेसम्म दरखास्त दिन सकिने गरी सूचना प्रकाशित गरेको छ । पाँच जनाका लागि खुलाइएको विज्ञापनमा एक हवल्दार र चार जवान रहनेछन् ।

हवल्दार महिला वा पुरुष जुनसुकै हुनसक्ने र जवानमध्ये महिला/पुरुष दुई–दुई जना नियुक्त गरिने गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन् । कार्यालयमा काम बढी हुने जनशक्ति कम हुने भएकाले नगरप्रहरी नियुक्त गर्न लागिएको खत्रीले बताइन् ।

आफ्नै गाउँमा रोजगारी

धुर्कोट गाउँपालिका–४ जैसिथोकका विष्णु पोखरेलले रोजगारीको सिलसिलामा दुई वर्ष विदेशमा सुरक्षाको काम गरे । गत वर्ष गाउँपालिकाले नगरप्रहरीको सूचना निकाल्दा उनले पनि आवेदन दिए । सबैभन्दा उत्कृष्ट हुँदै नगर प्रहरी सहायक निरीक्षकमा काम गर्ने अवसर पाए ।

बजार अनुगमन, म्याद सकिएका सामग्रीको उचित व्यवस्थापन, मदिरा नियन्त्रणलगायतका काम आफूहरुले गर्ने उनले बताए । “काम पनि विदेशमा झैँ गाह्रो हुँदैन, आफ्नै ठाउँमा काम गर्दा आनन्द लाग्छ”, उनले भने, “समयमै स्थानीय तह गठन भएपछि अवसर प्राप्त भयो ।”

प्रतिक्रिया दिनुहोस
Advertisement