सांसद खतिवडाको प्रश्न : एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?

सांसद खतिवडाको प्रश्न : एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका शहीदकी आमा तथा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडाले शहीदको आमाको अपमान हुँदा सरकार हेरेर बसेको गुनासो गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले न्यायले आभास हुने गरी काम गर्न सरकारलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ? आफ्नो छोराहरूको रगत अझै पनि हाम्रा छोराहरूको रगत अझै पनि सुकेका छैनन् । न्यायको आभास हुने गरी काम गर्नुहोस् । कारागारमा भएका जेन्जी थुनिएकाहरूलाई तत्कालै रिहा गर्नुहोस् । घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै ठाउँमा लैजानुपरे पनि नि:शुल्क उपचार होस् । शहीद परिवारले चित्त बुझ्ने गरी काम गर्नुहोस् ।’

मंगलबार बैठकमा सांसद खतिवडा बोल्दाबोल्दै भक्कानिएकी छन् । ‘यो मेरो यात्राको उद्देश्य शासकहरूले आफ्ना गलत बाटो समयमा सुधारून् भनेर हो । म आज यो रोष्टमबाट स्पष्ट पार्न चाहन्छु – जुन दिन जेन्जी आन्दोलनका शहीदहरूले पूर्णरूपमा न्याय पाउँछन्, त्यसदिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिच्किचाहट हुने छैन । तर बिडम्बना मेरो यो पवित्र उद्देश्य र छातीको घाउ कसैले छोरोको लासमाथि सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन् ।

प्रधानमन्त्री बालेन शाहले बारम्बार अनुरोध गरेकाले आफू सांसद बनेको उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय र खोज्ने यात्रा थियो । मेरो कोखमा ९ महिना हुर्केको तातेताते गर्दै मेरा आँखामै सामुन्ने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो राष्ट्रिय स्वतन्त्र पार्टी मेरो घरको दैलोसम्म पुगेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ । अन्य तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ ।’