नेपाल प्रहरीमा कोरोना भाइरसको त्रासः हात नमिलाउने, नमस्ते गर्ने !


काठमाडौं – नेपाल प्रहरीले विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएको छ । सुरक्षा संगठन समूहमा रहने भएकाले सम्भावित खरताबारे समयमै सतर्कता अपनाइएको हो ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत स्वास्थ्य आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको बताए ।

उनले भने, ‘विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन भनेका छौं । त्यसबाहेक साबुनपानीले हात घुने, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य परीक्षण लगायतको व्यवस्था गरेका छौं ।’

सकेसम्म हात नमिलाउन र नमस्ते गर्न समेत निर्देशन दिएको छ । चिकित्सकले समेत नमस्ते गर्न सुझाव दिँदै आएका छन् । आन्तरिक रुपमा अभिवादन गर्ने भए पनि कतिपय अवस्थाले सेवाग्राही वा अन्य याक्तिसँग हात मिलाउनुपर्ने भए पनि सकेसम्म हात नमिलाउने निर्देशन दिइएको प्रवक्ता क्षेत्रीले बताए ।

उनका अनुसार कोरोनाकै प्रभावका कारण यही फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी समेत तत्कालका लागि स्थगित गरिएको छ ।

देशभर झन्डै ८० हजार प्रहरी छन् । नेपाल प्रहरीले प्रहरी कसैलाई रुखाखोकी, ज्वरो देखिएमा तत्कालै जानकारी गराउन र अस्पतालमा गएर चेक गर्न आह्वावन गरेको छ ।

‘चेकिङमा केही सरलिकरण भएको छ । मास्क र सेनिटाइजर लगायत सामाग्री प्रयोग गरेर काम गर्न भनेका छौं,’ डिआइजी थापाले भने ।

यस्तै कोरोनाकै प्रभावको सबैभन्दा ठूलो असर प्रहरीको मापसे चेकिङमा देखिएको छ । कोरोना संक्रमणको त्रासका कारण ट्राफिक प्रहरीले चेक गर्दै आएको मापसे परीक्षणमा असर परेको हो ।

ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा ब्रेथलाइजर मेसिन नभएका कारण कैयौं स्थानमा मुखले सुँघेर पनि मापसे चेक गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement