बारामा प्याज तस्कर र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर


काठमाण्डु – बारामा प्याज तस्कर र प्रहरीबीच झडप भएको छ । जिल्लाको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीको प्याज ल्याउँदै गरेको समूहसँग प्रहरीको जम्का भेट भएको थियो ।

झडपमा तीन जना प्रहरी र एक जना बालक घाइते भएका छन् । भारतबाट ल्याउँदै गरेको तस्करीको प्याज नियन्त्रणमा लिनेक्रममा तस्करहरुको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा गोली लागेर एक जना बालक घाइते भएका हुन् ।

घटनामा सई विरेन्द्र गिरी, स्थानीय १४ वर्षीय रञ्जन यादवसहित चार जना घाइते भएका छन् ।  घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement