प्रहरीलाई सफलता : किड्न्याप भएका ३ वर्षीय बालककाे १५ दिनपछि सकुशल उद्धार


काठमाण्डु – जनकपुरधामबाट अपहरणमा परेका ३ वर्षीय बालकको धनुषा प्रहरीले सकुशल उद्धार गरेको छ । भारतको सीतामढी, बर्गिनिया प्रखण्डका हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरी अपहरणमा परेको सूचना पाए लगत्तै खोजतलास सुरु गरेको धनुषा प्रहरीले मंगलबार बालकलाई अपहरण मुक्त गराएको हो ।

महोत्तरीको पिपरा गाउँपालिका– ४ बाट सोहनलाई फेला पारेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । बच्चाको अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीय मैथुन खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार ६ गते साँझ जनकपुरधामको भ्रमरपुरा चोकमा खेलिरहेका सोहन बेपत्ता भएका थिए । सीसीटीभी फुटेजमा तीन वर्षीय सोहनलाई एक महिलाले आफूसँगै लगेको फेला पारेपछि धनुषा प्रहरीले अनुसन्धान अघि बढाउँदै १५ दिनपछि बालकसम्म पुग्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement