प्रहरीकाे सक्रियताले दुईवटा बालविवाह रोकियो


दोलखा – प्रहरीको सक्रियतामा बुधवार दुईवटा बालविवाह रोकिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–८ मलेपुमा १७ वर्षीय बालिकासँग २२ वर्षको एक युवकको विवाह हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलीले त्यसलाई रोकेको प्रहरी निरीक्षक सुन्जित तमाङले बताउनुभयो ।

लामिडाँडाको उक्त युवकसँग १७ वर्षीया बालिकाको विवाह रोकिएपछि बुधबार नै केटा पक्ष र केटीपक्षको सहमतिमा युवकको विवाह बालिकाको दिदीसँग गरिएको थियो । यसै गरी बुधबार नै मेलुङ गाउँपालिका–१ मा १५ वर्षको बालक र १६ वर्षको बालिकाबीच हुन लागेको विवाह पनि प्रहरीको सक्रियतामा रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले बताउनुभयो ।

मुलुकी अपराध संहिता ऐनको दफा १७३ मा २० वर्ष उमेर नपुगी विवाह गरेको उक्त विवाह स्वतः बदर हुने र कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्मको कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement