प्रहरीमा तीन एआईजीको दरबन्दी थप्न सैद्धान्तिक सहमति


काठमाण्डु – नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप्ने विषयमा मन्त्रीपरिषदमा सहमति भएको छ । तीन एआईजीको दरबन्दी थप्ने विषयमा सोमबार बसेको मन्त्रीपरिषद बैठकमा सैद्धान्तिक सहमति भएको स्रोतले जानकारी दियो । नेपाल प्रहरीमा हाल पाँच जना एआइजीको दरबन्दी छ ।

तीन जना एआईजी थपिएसँगै अब ८ जना एआइजी हुनेछन् । यसअघि थप गर्न लागिएका तीन (एआइजी) को दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले एआइजीको दरबन्दी स्विकृत गर्न लामो समयदेखी आनाकानी गर्दै आएका थिए ।

उनले आफु निकट प्रहरी अधिकारीको बढुवा हुनुपर्ने अडान राखेपछि गृह मन्त्रालयले दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रीपरिषदले अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा नै फर्काएको थियो ।

स्रोतका अनुसार अर्थमन्त्री शर्माले स्वीकृति दिएपछि मन्त्रीपरिषदमा तीन एआइजीको दरबन्दी थप गर्ने विषयमा सहमति भएको हो । तीन एआइजीको दरबन्दी प्रधानमन्त्री शेरबहादुर देउवा नै थप्ने निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा तीन एआईजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण गरी केही समयअघि पठाएको थियो ।

अर्थमन्त्री शर्माले विवादित डिआइजी रविन्द्र धानुकको नाम बढुवा गर्न सर्त राखेको छन् । उनको बढुवाको ग्यारेण्टी भएपछि मात्र शर्माले दरबन्दी थप्ने फाइल स्विकृत गरेका हुन । धानुकलाई डिआइजी बढुवा गर्दा होस या कुनै आकर्षक ठाउंमा सरुवा गर्दा होस संधै शर्माको साथ रहेको छ । उनि आर्थिक मामिलामा समेत सधै विवादमा आउने गर्छन ।

अन्य दुई पदमा डिआईजी उत्तम सुवेदी र धिरजप्रताप सिंह बढवा हुनेछन् । प्रहरीमा एआइजीका अन्य दाबेदारमा वसन्त पन्त, वसन्त लामा, दिवेश लोहनी पनि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement