नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – नेपाल प्रहरीका ५ अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिए। पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन पनि निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए।

प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गरे।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गरे।

पदोन्नतिसँगै गहन जिम्मेवारीको बढ्ने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरे। संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउँदै कुँवरले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको प्रयास अपरिहार्य रहेको विचार व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र तीन एआईजी आगामी शनिबारदेखि अनिवार्य अवकासमा जाने छन्। त्यसपछिको आईजीपी आज दर्ज्यानी चिन्ह लगाएका ५ एआईजीमध्येबाट बनाइने छ।

प्रतिक्रिया दिनुहोस
Advertisement