प्रहरीमा तीन एआईजी राख्ने तयारी, प्रदेश र मेट्रोमा डीआईजी, ट्राफिकमा एसएसपी रहने


काठमाडौं – आफू निकटलाई आर्थिक चलखेलका आधारमा बढुवा गर्न अघिल्लो सरकारले नेपाल प्रहरीमा मनलाग्दी रुपमा थप गरेका दरबन्दी नयाँ सरकारले कटौती गर्ने तयारी थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जनपद समूहतर्फ ३ जना एआईजी दरबन्दी भएको नेपाल प्रहरीमा ‘ओएनएम सर्भे’ नै नगरी पटकपटक गरी १२ एआईजीको दरबन्दी थप गरेर १५ पु¥यायो भने अनावश्यक रुपमा ७ डीआईजीको दरबन्दी थप गरेको थियो ।

थप भएको दरबन्दीसमेत गर्दा नेपाल प्रहरीमा डीआईजीको दरबन्दी २६ बाट बढेर ३३ पुगेको छ । प्रहरीमा अहिले १५ एआईजी र २१ डीआईजी कार्यरत छन् । एसएसपी हुँदा ब्रेन ह्यामरेजका कारण असक्त बनेका राजेन्द्रमान श्रेष्ठलाई विशेष पद सिर्जना गरेर सरकारले गत साउनमा डीआईजी बनाइसकेको छ । श्रेष्ठलाई समेत गणना गर्दा डीआईजीको संख्या २२ हुन जान्छ भने थपिएर पूर्ति हुन बाँकी दरबन्दी ७ र रिक्त ५ गरी १२ डीआईजीको पद करिब दुई महिनादेखि रिक्त छ ।

अघिल्लो सरकारले योग्यभन्दा आर्थिक प्रलोभनमा बद्नाम र अयोग्य एसएसपीहरुलाई बढुवा गर्न खोजेपछि भएको विवादले हालसम्म पनि डीआईजी बढुवा हुन सकेको छैन । एसएसपीहरु केदार रिजाल, दिपककुमार थापा, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, पूर्णचन्द्र जोशी, श्याम खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेशविक्रम शाह, सुभाष चन्द्र चौधरी, नारायणसिंह खड्का, दानसिंह बोहरा, सुरज केसी, विकास श्रेष्ठ, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, मोहनराज जोशी, शुशीलकुमार भण्डारी, महेन्द्रकुमार पोखरेल, विनोद शर्मा घिमिरे र प्रेम चन्द डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

बढुवाको लाइनमा रहेका विष्णुहरि गौतमले आगामी महिना अवकाश पाउने र श्याम बहादुर खत्रीविरुद्ध ३३ किलो सुन तस्करीमा मतियारको रुपमा संलग्न रहेको भन्दै लागेको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकोले उनीहरु दुवैको बढुवा असम्भव देखिएको छ । एसएसपी खत्री आगामी असार २९ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । भने गौतमले आगामी चैत २८ मा अवकाश पाउँदै छन् ।

रिक्त पद थोरै तर बढुवाका आकांक्षी धेरै भएका कारण अघिल्लो सरकारले डीआईजी बढुवाको प्रक्रिया अगाडि बढाउन सकेको थिएन । उच्चस्रोतका अनुसार अघिल्लो सरकारले थप गरेको सात डीआईजीको दरबन्दीमध्ये ६ दरबन्दी कटौती गर्ने सरकारको तयारी छ । थपिएको पाँच दरबन्दी कटौती गर्दा प्रहरीमा डीआईजीको दरबन्दी २७ पुग्न जान्छ । यस अगाडि थपिएको दुई दरबन्दीलाई प्रदेश प्रहरी कार्यालयमा मिलान गर्ने र महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपीलाई प्रमुख बनाउनेगरी गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको खुल्न आएको छ ।

प्रदेशको मुख्यसचिव सहसचिव खटाइएपछि प्रोटोकल मिलाउन प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने तयारी सराकारको छ । ‘सम्भवतः चैत अन्तिमतिर सातवटै प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी पठाइन्छ, एआइजीको दरबन्दी कटौती गरेर ३ मा झार्ने र विद्यमान ६ डीआईजीको दरबन्दी कटौती गर्ने मन्त्रालयको तयारी छ,’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । उच्च स्रोतका अनुसार सरकारले एआइजीको दरबन्दी कटौती गरेर ३ मा झार्ने तयारी थालेको छ ।

अघिल्लो सरकारले उच्च तहमा जथाभावी दरबन्दी थपेका कारण मुलुकको अर्थतन्त्रलाई प्रभावित पारेको ठहर गर्दै १२ एआइजीको दरबन्दी कटौती गर्ने तयारी गरेको स्रोत बताउँछ । त्यसो त अघिल्लो सरकारले प्रदेश प्रमुखमा खटाइएका सात एआइजीको दरबन्दी उनीहरुको अवकाशपछि स्वतः फाजिलमा जाने निर्णय गरिसकेको छ । अघिल्लो सरकारको निर्णय अनुसार सात दरबन्दी फाजिलमा जाने भएपछी यसअगाडी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, महानगरीय प्रहरी कार्यालय, प्रशासन विभाग, कार्य विभाग र प्रहरी महानिरीक्षकको कार्यालयमा कायम रहेको दरबन्दी कटौती गर्ने सरकारले तयारी गरेको छ ।

गृह मन्त्रालयसम्बद्ध विश्वस्त स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, मानवस्रोत विकास विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यस अगाडि कायम दरबन्दीलाई निरन्तरता दिने तयारी गरेको छ । यसका साथै सरकारले महानगरीय ट्राफिक महाशाखामा कायम रहेको डीआईजीको दरबन्दीसमेत कटौती गर्ने भएको छ । ‘अब ट्राफिक महाशाखाको नेतृत्व एसएसपी र महानगरीय कार्यालयको नेतृत्व डीआईजीले सम्हाल्नेछन्’, स्रोतले भन्यो ।

उच्च स्रोतका अनुसार चैत २८ मा हालका आईजीपी प्रकाश अर्यालको अवकाशपछि आउने प्रहरी महानिरीक्षकको सिफारिसमा उक्त निर्णय गर्ने सरकारको तयारी छ । अर्यालको अवकाशपछि चर्चित डीआईजीहरु सर्वेन्द्र खनाल र रमेशप्रसाद खरेलमध्येबाट एकजनाले नेपाल प्रहरीको २६औँ महानिरीक्षक बन्ने अवसर पाउँदैछन् । पछिल्लो समय विकसित घटनाक्रमअनुसार प्रहरी महानिरीक्षकको दौडमा खरेल नै अगाडि देखिन्छन् ।

प्रहरी सङ्गठनमा व्यवसायिक प्रहरी अधिकृतको छवी बनाउन सफल खरेल र खनालमध्ये जो प्रमुख भएपनि मुलुकको शान्ति सुरक्षा तथा सङ्गठनको हितमा काम गर्नसक्ने क्षमता राख्छन् ।

दरबन्दी खाली हुँदा समेत बढुवा नभएपछि उच्च अधिकृतमा निराशा !
खाली रहेको दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको बृतिबिकासमा समस्या हुने देखिएको छ । यसले गर्दा उच्च प्रहरी अधिकारीहरुमा समेत निराशा छाएको छ । हालका आइजीपी प्रकाश अर्यालको अवकाशपछि २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका मध्येका एकजनाले अबको करिब एक महिनापछि नेपाल प्रहरीको २६औं आइजीपीको रुपमा कार्यभार सम्हाल्ने मौका पाउँदै छन् । तर दुर्भाग्य, उनीहरुको ब्याचका केही अधिकारी डीआईजी भएता पनि अधिकांश अधिकृतहरु हालसम्म पनि एसएसपी नै छन् । एआईजी बनेर आफ्नो ब्याचमेट आइजीपीलाई सघाउने उनीहरुको कहिले पूरा हुने ? सोचनीय विषय बनेको छ ।

तल्लो तहमा ढिलो पदोन्नति र माथिल्लो तहमा अत्यन्तै छिटो हुने पदोन्नतिले नेतृत्वमा जाने प्रहरी अधिकारीहरुले पर्याप्त अनुभव संगाल्न नपाउने अवस्था सिर्जना हुनुलाई अहिलेसम्मका सरकारले खासै गम्भीरतापूर्वक लिएको पाइँदैन । दरबन्दी खाली हुँदाहुँदै बढुवा नहुनु र एकैपटक बढुवा गर्दा २र३ वटा ब्याच मर्ज हुने खतरा उत्तिकै देखिएको छ । यसपटक डीआईजीको खाली दरबन्दीमा बढुवा नभए एकैपटक तीनवटा ब्याच मिसिन जान्छन् ।

यसले सुरक्षा निकायको चेन अफ कमाण्डमा गम्भीर समस्या उत्पन्न गराउने जानकारहरु बताउँछन् । अहिलेकै अवस्थामा बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डीआईजी बन्ने मौका पाउँछन् । त्यस्तै १७ जना एसपीले एसपी बन्ने सौभाग्य पाउने निश्चित छ भने २५ भन्दा बढी डीएसपीले एसपीको फुली लगाउने अवसर पाउने निश्चित छ ।

एसपीबाट एसएसपीमा बढुवाको लागि सहकुल बहादुर थापा, अरुणकुमार बिसी, विभूतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र कुमार बस्याल, शेखर कोइराला, मसाउद आलम खाँ, किशोर कुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र विक्रम बहादुर चन्दबीच प्रतिस्पर्धा छ ।

डीएसपीहरु दीपकराज खरेल, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, शेखर खनाल, गंगा पन्त, प्रवीण पोखरेल, विनोद सिलवाल, दीप शमशेर जबरा, रवीन्द्र रेग्मी, बेलबहादुर पाण्डे, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, बसन्त रजौरे, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफ्ले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् ।

उनीहरुसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधान, भूपेन्द्र खत्री, अच्यूत पुडासैनी, कृष्णबहादुर पल्ली मगर, सूर्यबहादुर केसी, राकेश सिंहलगायतका अधिकृतहरु बढुवाका प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement