नेपाल प्रहरी र सशस्त्रले चुनावअगावै गाडी किन्ने, टेण्डर आह्वान


काठमाण्डु – मुलुकका दुबै सुरक्षा निकायले मंसिरमा हुने निर्वाचन अगावै गाडी खरिद गर्ने भएका छन् । त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले १५ दिने सूचना जारी गर्दै खरिद प्रक्रियाका लागि टेण्डर आह्वान गरेका हुन् ।

अर्थ मन्त्रालयले गाडी खरिदका लागि प्रहरीलाई ७५ करोड र सशस्त्रलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो छ। सोही रकमबाट नेपाल प्रहरीले १८० र सशस्त्र प्रहरीले ६० वटा गाडी किन्ने भएका हुन् ।

अर्थले नै प्रतिगोटा ५० लाख भन्दा बढी रकम नबढ्ने गरी खरिद गर्न अनुमति दिएको छ । प्रहरीले ५० लाख रुपैयाँका दरले ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी किन्न लागेको प्रहरी हेडक्वाटरले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरीले पनि ६० वटा गाडी निर्वाचनअघि नै खरिद गरिसक्ने तयारी गरेकाे छ । सशस्त्र प्रहरीले ५० लाखका दरले २५ वटा र ३५ लाखका दरले ३५ वटा गाडी खरिद किन्ने  भएको हाे । खरिद गर्ने कम्पनीले नै गाडीमा प्रहरीका लागि आवश्यक रंगरोगन र अन्य सबै सामान जडान गर्नु पर्नेछ ।

यता गृह मन्त्रालयले २५ वटा गाडी किन्ने भएको छ । गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका गाडी किन्न लागेको हो । नेपाल प्रहरीले साढे ६ सय गाडी खरिद गर्नका लागि तीन अर्व बजेट माग गरेको भए पनि अर्थले माग गरेजति बजेट नदिएको हो ।

यसअघि स्थानीय तहको निर्वाचनमा पनि सबै सुरक्षा संगठनले गाडी खरिदका लागि बजेट माग गरेका थिए । तर अर्थ मन्त्रालयले आर्थिक संकट देखाउँदै गाडी खरिदका लागि बजेट दिएको थिएन । त्यसबेला प्रहरीले भाडामा गाडी लिएर आवश्यकताअनुसार प्रयोग गरेको थियो ।

यस पटक गाडी किने पनि निर्वाचनको समयमा एक हजार बढी सवारी भाडामा लिने तयारी प्रहरी गरिएको प्रधान कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा भन्दा मंसिर ४ गते हुने निर्वाचनमा सुरक्षा निकायलाई सवारी साधनको आवश्यकता धेरै पर्छ ।

यसपटक संंघ र प्रदेशको चुनाव एकैचरणमा हुने हुँदा सुरक्षा चुनौती थपिने र गस्तिमा खटिने सुरक्षाकर्मीको संख्या पनि बढ्ने भएका कारण यसपटक सवारी साधनको आवश्यकता बढी हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement