प्रहरी चौकी बनाउन निःशुल्क जग्गा उपलब्ध


त्रिशुली – तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन् ।

उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा हस्तान्तरण गर्दै उनले सम्पत्तिभन्दा ठूलो सुरक्षा भएकाले चौकी निर्माणका लागि आवश्यक जग्गा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार उक्त जग्गाको मूल्य चलनचल्तीको कारोवारमा १५ लाखभन्दा बढी पर्दछ ।

प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराएका तामाङसहित उनका छोरा सिंहबहादुर, फूलबहादुर, बमबहादुर र श्रीबहादुरलाई नुवाकोट प्रहरीले कदरपत्रले सम्मान गरेको छ । जग्गा दातालाई प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल र जिल्ला प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा सम्मान गर्दै आगामी दिनमा समुदायमा शान्ति सुरक्षा स्थापनाका लागि पनि सहयोग कायम राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement