आकांक्षी धेरै भएपछि प्रहरीको डिआईजी बढुवा प्रक्रिया अवरुद्ध


काठमाडौं– नेपाल प्रहरीको रिक्त एक डिआईजी पदमा बढुवाको लागी एक दर्जन एसएसपीहरु लविङमा लागेका छन् । गृहमन्त्रालय स्रोतकाअनुसार आकांक्षी एसएसपीहरुको दौडका कारण बढुवा प्रक्रिया नै अवरुद्ध भएको छ । नेपाल प्रहरीमा डिआईजीको पद रिक्त भएको लामो समय भइसकेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवाका लागी नेताको घरदैलो गर्नेहरुलाई कार्वाही गर्ने चेतावनी दिइरहंदा बढुवाका आकांक्षी एसएसपीहरु भने आफु वढुवामा पर्नुपर्ने भन्दै नेता र मन्त्रीहरुको घरदैलोमा छन् ।

बढुवाका लागी वरियतामा एक नम्बरमा रहेका एसएपी विरेन्द्र श्रेष्ठ स्वभाविक दावेदार मानिन्छन् । सरल स्वभाव भएका श्रेष्ठ हालका आईजिपी खनालका ब्याची समेत हुन् । खनाल श्रेष्ठलाई नै बढुवा गर्ने लाईनमा छन् । तर, उनको राजनितिक पहुंच नभएकाले उनिभन्दा पछिल्लो व्याचका अधिकृतहरुलाई नै बढुवा गर्न गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राईमाथी दबाव छ । श्रेष्ठलाई बढुवा गर्दा विवादमा नपरिने खनालको बुझाई छ ।

बढुवाका लागी एसएसपीहरु घनश्याम अर्याल, गणेश ऐर,वसन्त पन्त,विश्व पोखरेल,रविन्द्र धानुक र धिरजप्रताप सिंहलगायत एक दर्जन अधिकृतहरु दौडमा छन् । गृहमन्त्री थापा र सचिव राईमाथी दुई व्याचपछिका एसएसपी विश्व पोखरेललाई बढुवा गर्न चर्को दबाव रहेको स्रोतको दावी छ ।

तर,गृहमन्त्री थापा भने भावी प्रहरी महानिरीक्षकको सम्भावना समेत भएको उक्त व्याचबाट एक जनालाई मात्र बढुवा गर्ने पक्षमा छैनन् ।

‘उहाले एक व्याचबाट कम्तिमा तीन/चार जनालाई प्रतिस्पर्धा गराउंनुपर्छ भन्ने सुझाव दिनुभएको छ, त्यसैले बढुवामा वरियतालाई ख्याल गर्नुपर्छ भन्ने पक्षमा उहां हुनुहुन्छ । ’गृहमन्त्री निकट स्रोतले काठमाडौंपाटीसंग भन्यो ।

नेकपाका केही नेता पोखरेललाई नै डिआईजी बनाउनुपर्ने पक्षमा छन् । उनि वरियतामा पछि भएपनि रिक्त डिआईजी बढुवाका लागी लविङमा छन् ।

बढुवाका लागी श्रेष्ठपछिका स्वभाविक दावेदार मानिएका एसएसपी अर्याल पनि दौडमा छन् । तर उनिभन्दा बढी डिआईजीमा बढुवाको सम्भावना भने गणेश ऐरको रहेको छ । एसएसपी ऐरलाई बढुवा गर्न नेकपाकै प्रभावशाली नेता लविङमा छन् । उनि यसअघि ललितपुरका एसएसपी थिए ।

ऐर प्रहरीमा कमजोर कार्यक्षमता भएका अधिकृत मानिन्छन् । तर, नेकपाका अधिकांश प्रभावशाली नेताहरुसंग ऐरको राम्रो सम्बन्ध भएकाले उनको बढुवा हुने सम्भावना बढी छ ।

त्यसैगरी हाल ट्राफिक महाशाखा प्रमुख रहेका पन्त पनि गृहमन्त्री निकटस्थहरुमार्फत बढुवाको लविङमा छन् । उनको पनि बढुवा हुने सम्भावना कम रहेको बताइन्छ । पन्त प्रमुख भएर आएदेखी नै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त छ । बढुवाको लागी एसएसपी सिंह पनि लविङमा छन् । तर, सिंह वरियतामा पछि रहेकाले उनको सम्भावना भने कम छ । सिंहका साथै हाल ललितपुर प्रहरी प्रमुख रहेका एसएपी धानुक पनि बढुवाको लागी लविङमा छन् ।

 

डिआईजी बढुवा अवरुद्ध भएको वारे गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीलाई सम्र्पक गर्न खोज्दा उनको टेलिफान उठेन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement