राजनीतिक नेतृत्वसंग पहुंच भएका एसएसपीलाई बढुवा गर्न डीआईजीको दरबन्दी थप्ने तयारी

राजनीतिक नेतृत्वसंग पहुंच भएका एसएसपीलाई बढुवा गर्न डीआईजीको दरबन्दी थप्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नेपाल प्रहरीमा फेरी डीआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि नै नेपाल प्रहरीमा एआईजी र डीआईजीको संख्या घटाउने निर्णय गरेको थियो । तर,सरकारले आफैले गरेको निर्णयलाई उल्टाउंदै प्रहरीमा दुई जना एआईजीको दरबन्दी थप गरिसकेको छ ।

निकट प्रहरी अधिकारीलाई बढुवा गर्नको लागी एआईजीको दरबन्दी थप गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । नेपाल प्रहरीका डिआईजी विश्व पोखरेल एआईजीमा बढुवा भइसकेका छन भने डीआईजी सहकुल थापा एआईजी बढुवाको लागी सिफारिस भएका छन ।

ओली नेतृत्वको सरकारले फेरी प्रहरीमा चार जना डीआईजी थपको तयारी गरेको छ । त्यसको लागी प्रक्रिया अन्तिम चरणमा पुगेको स्रोतले बतायो । प्रहरी प्रधान कार्यालयले डिआईजी थप नगर्दा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेपछि सरकारले दरबन्दी थपको प्रक्रिया अघि बढाएको हो ।

प्रहरीमा यसअघि डीआईजीको संख्या २६ पुगेको थियो । पछि त्यसलाई झारेर १९ जनाको दरबन्दी कायम गरिएको थियो । एआईजीको दरबन्दी थप भएसंगै डीआईजीको दरबन्दी बढाउन प्रहरीभित्र लविङ सुरु भएको छ । प्रहरीका उच्च अधिकारीहरु नै दरबन्दी थपका लागी राजनीति नेतृत्वको घरदैलो गरिरहेका छन् ।

अहिले नेपाल प्रहरीमा सातवटा प्रदेशको नेतृत्व डीआईजीले गर्दै आएका छन् । त्यसैगरी उपत्यका प्रहरी कार्यालय, अन्वेषण योजना निर्देशनालय, महानिरीक्षकको सचिवालय, साईबर ब्युरो, विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रहरी प्रतिष्ठान, प्रबन्ध निर्देशनालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजीको दरबन्दी छ ।

थप गर्न लागिएको डीआईजी महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, अपरेशन विभाग, लागुऔषध नियन्त्रण ब्युरो, र जुनियर प्रहरी शिक्षालय भरतपुरमा राख्ने तयारी छ । यसका लागी प्रधानमन्त्री ओली र गृहमन्त्री विष्णु पौडेल समेत सहमत भइसकेका छन् ।

प्रहरीमा दुई जना एआईजीको दरबन्दी थप हुंदा व्यक्तिलाई हेरेर दरबन्दी थप गरिएको थियो । यसपटक पनि डीआईजी थप व्यक्तिलाई हेरेर गर्ने सरकारको तयारी छ ।

सरकारमा पुगेका व्यक्तिले राजनीतिक भागबन्डा मिलाउनका लागि दरबन्दी थप्ने प्रचलन बढेको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । उनले संगठनमा आवश्यकता हेरेर दरबन्दी थपघट गर्नुपर्नेमा राजनीतिक दबाबका आधारमा बिना अध्ययन हचुवाका भरमा दरबन्दी थपघट गर्ने प्रचलन बढेको बताए । मल्लले आफ्नो स्वार्थ सिद्ध गर्न आफू निकटकालाई दरबन्दी थपेरै भएपनि माथिल्लो पोष्टमा पुर्याउने प्रचलन बढनु राम्रो नभएको टिप्पणी गरे ।

‘प्रहरीको दरबन्दी संगठनको आवश्यकता भन्दा पनि व्यक्तिको आवश्यकतामा गइसकेको छ । नेपाल प्रहरी कुनै मन्त्रालय, शाखा महाशाखा जस्तो होइन । यो देशको आन्तरिक शान्ती सुरक्षाको जिम्मा लिएको संगठन हो । दरबन्दी संगठनको आवश्यकता, जिम्मेवारी, कतिलाई कन्ट्रोल गर्ने हो त्यसलाई हेरेर गर्नुपर्छ,’ उनले भने ।

मल्लले सुरक्षा निकायमा दरबन्दी सिर्जना गर्दा ‘ओएनएम सर्भे’ का आधारमा गर्नुपर्ने भएपनि व्यक्तिको इच्छाका आधारमा दरबन्दी थपघट गर्नु दुःखद भएको बताए ।

‘ओएनएम सर्भेमा कतिले कतिलाई कमाण्ड गर्ने, जिम्मेवारीका बाँडफाँड, करियर डेभलपमेन्टलाई हेरेर ओएनएम गर्नुपर्ने हो । तर, यहाँ नीति निर्माण गर्ने मान्छेलाई जे मन लाग्छ त्यसलाई ओएनएमका नाममा फ्लोराइज गरिदिन्छन् । त्यो अध्ययन होइन उनिहरुले आफूलाई मन लागेको मान्छे ल्याएर राख्ने हो’, पूर्वडीआईजी मल्ल भन्छन् ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार एसएसपीहरु दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राई,भीमप्रसाद ढकाल र उमेशराज जोशीलाई बढुवा गर्नको लागी डीआईजीको दरबन्दी थप्ने तयारी भएको हो । उनिहरु सबैको उच्च राजनीतिक नेतृत्वसंग पहुंच छ । जवकी सिनियर ब्याचका एसएसपीहरु शौरभ राणा, सुशीलकुमार यादव, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नरबहादुर खत्री, मसाउद आलम खाँ, र शेखर कोइराला नै वरियतामा अघि छन् ।

पछिल्लो व्याचबाट भण्डारी, राई, थापा, जोशी र ढकालसंगै एसएसपीहरु वसन्तबहादुर कुँवर, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, टेकबहादुर तामाङ, रामदत्त जोशी, मीरा चौधरी र पोषराज पोखरेल समेत डीआईजी बन्ने प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नुहोस-

प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप : स्वार्थसिद्ध गर्न दरबन्दी थपघटको खेल