अब प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित


काठमाडौँ – विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उनले बताए । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान कार्यालय आउनुपर्ने र यहाँबाट सिफारिश लिएर पुनः विधिविज्ञान प्रयोगशाला जानुपर्ने अवस्था थियो । अहिले त्यो झन्झट हटेर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो ।

मुख्यगरी भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ ।

त्यसैले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटाइएको विज्ञ टोलीले प्रहरी प्रधान कार्यालयबाट नै प्रमाणित गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताए । दैनिक ४÷५ जना औँठाछाप प्रमाणितका लागि प्रहरी प्रधान कार्यालय आउने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement