गृहमन्त्रीको आदेशपछि ३१ चालक प्रहरी मुख्यालय फिर्ता भए


काठमाण्डु – गृहमन्त्रालयले प्रहरी मुख्यालयमा ३१ जना चालक फिर्ता पठाएको छ । गृह मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरुले नियम विपरित प्रहरीबाट चालक सुविधा लिइरहेको गुनासो थियो ।

गृहमन्त्रालयका सहसचिव, उपसचिव र पहुंचवाला कर्मचारीहरुले प्रहरी मुख्यालयबाट चालकको सुविधा लिएपछि त्यसलाई फिर्ता गर्नुपर्ने भन्दै नवनियुक्त गृहमन्त्री रवि लामिछानेसमक्ष उजुरी परेको थियो ।

लामिछानेको आदेशपछि गृहमन्त्रालयले बिहिवार पत्र नै पठाएर प्रहरी मुख्यालयमा चालक फिर्ता पठाएको हो । मन्त्री लामिछानेले नियमविपरित खटाइएका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्न समेत निर्देशन दिइसकेका छन् ।

प्रहरीका उच्च पदस्थहरुले चाकडी गर्नकै लागि राजनितिक दलका शिर्ष नेता,गृहमन्त्रालयका कर्मचारी र तिनका नातेदारलाई विभिन्न सुविधा उपलब्ध गराउंदै आएको गुनासोपछि मन्त्री लामिछाने एक्सनमा उत्रेका हुन् ।

मन्त्री लामिछानेले आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीलाई निर्देशन समेत दिइसकेका छन् । उनले नेता भेट्न समेत विभागिय स्विकृती लिनुपर्ने नियम बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement