प्रहरीद्वारा दुर्व्यवहार गरेको भन्दै कैदीबन्दीद्वारा कारागारभित्रै हडताल


जुम्ला – जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन्। कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुर्व्यवहार गरेको कैदीबन्दीको आरोप छ।

मादक पदार्थ सेवन गरी दुर्व्यवहार गर्ने खड्काको सरुवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टिबाट तालाबन्दी गरी यही चैत ४ गतेदेखि हडताल सुरु गरेको जनाएका छन्। औषधोपचारजस्ता अत्यावश्यक सेवामा कारागार प्रशासनले लापरवाहीसमेत गर्ने गरेको उनीहरूको आरोप छ।

कैदीबन्दीलाई दुर्व्यवहार गरिएको भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको जुम्ला कार्यालयका अधिकृत सुरबहादुर परियारले बताए। उनले भने, ुप्रहरीले मदिरा सेवन गरे नगरेको स्वास्थ्य परीक्षण प्रतिवेदन मागेका छौँ।ु आयोगले पनि कारागारमा गएर स्थलगत अनुगमन गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रकाश केसीले कैदीबन्दी र प्रहरीबीच एकापसमा केही विवाद भएको सुनिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

‘ङ’ श्रेणीको जिल्ला कारागार २ सय जना क्षमताको छ। कारागारमा हाल ५९ कैैदी र २० जना थुनुवा गरी ७९ जना छन्। सशस्त्र द्वन्द्वका क्रममा २०५९ कात्तिक २८ गते तत्कालीन माओवादीले ध्वस्त पारेको जिल्ला कारागार शान्ति स्थापनापछि पुनर्निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement