काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्सुरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई बिहीबार काठमाण्डुको नक्सालबाट पक्राउ गरिएको हो ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छामाथि धितोपत्र सम्बन्धी ऐनका विभिन्न दफाहरू ९९४, ९५, ९६ को उपदफा १ र दफा ९८० बमोजिमको कसूर गरेको आरोप लागेको छ । हुलास चन्द्र गोल्छाका छोरा ५९ वर्षीय शेखर गोल्छाले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा धितोपत्र बजारमा गैरकानुनी कार्य गरेको भन्दै बोर्डले थप अनुसन्धान र कारबाहीका लागि ब्यूरोमा प्रतिवेदन पठाएको थियो ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार काठमाण्डु जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई उनलाई नियन्त्रणमा लिइएको छ । धितोपत्र सम्बन्धी ऐनको दफा १०३ को उपदफा (३) बमोजिम उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
नेपालको प्रतिष्ठित व्यावसायिक घरानाका सदस्य तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छा पक्राउ परेसँगै शेयर बजार र व्यावसायिक वृत्तमा हलचल भएको छ ।





प्रतिक्रिया