कानून मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर


सुर्खेत – कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि मन्त्रालयका सचिव तोयनारायण सुवेदी र कर्णाली प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब कर्णाली प्रदेशमा १४ वटा प्रहरी एकाइ निर्माण हुने सचिव सुवेदीले जानकारी दिए ।

“कर्णाली प्रदेशका १० जिल्लामा १४ प्रहरी एकाइ बन्नेछन्”, सचिव सुवेदीले भने , “यसका लागि चालु आवमा रु १५ करोड बजेट निकासा दिने तयारी भएको छ ।” संरचना निर्माणका लागि ढिलो नगरी काम अघि बढाउन प्रदेश प्रहरी कार्यालयलाई निर्देशनात्मक सुझाव दिइएको उनको भनाइ छ ।

प्रहरी प्रदेश कार्यालयका प्रहरी निरीक्षक एवं इञ्जिनीयर विजयकुमार महासेठले यो वर्षका लागि आन्तरिक मामिला मन्त्रालयले दिएको १५ करोडको बजेटको बोलपत्र यही फागुन पहिलो साताभित्र गरिसक्ने बताए । प्रदेशभरिका सबै प्रहरी युनिटको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेकोले बोलपत्र प्रक्रियालाई तीव्रता दिएर संरचना निर्माणमा लाग्ने उनको भनाइ थियो । उनका अनुसार प्रदेशभरि निर्माण हुने सबै प्रहरी युनिटका लागि अनुमानित ६२ करोड बजेट सरकारले व्यवस्था गर्नुपर्ने हुन्छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशभरि बन्ने प्रदेश संरचनाले शान्ति सुरक्षाको बलियो आधार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । “प्रदेश सरकारले ‘समृद्धिका लागि शान्ति सुरक्षा’ अभियान थालेको छ”, कानूनमन्त्री भण्डारीले भने , “प्रहरीको पूर्वाधार निर्माणले यो अभियानलाई सार्थक उचाइमा पुर्‍याउनेछ ।”

प्रतिक्रिया दिनुहोस
Advertisement