अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्रियः महानिरीक्षक खनाल


काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फौजदारी आचारसंहितालाई कार्यान्वयनमा ल्याउनु नेपाल प्रहरीको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरीले विगतको तुलनामा धेरै सफलता हासिल गरेको बताए ।

महानिरीक्षक खनालले नेपाल प्रहरीको अपराध अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय साइबर ब्यूरो, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो र डाटा सेन्टर स्थापना गरेको जानकारी दिए । दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल प्रहरी अगाडि बढिरहेको बताए ।

महानिरीक्षक खनालले ९५ प्रतिशतभन्दा बढी मुद्दा नेपाल प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै नागरिकलाई सेवा दिन नेपाल प्रहरी सधैं दृढ रहेको बताए । कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानका क्षेत्रमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताए ।

त्रिभुवन विश्वविद्यालय फरेन्सी शाखाका प्रमुख डा. हरिहर वस्तीले अपराध अनुसन्धानमा टिमवर्क आवश्यक रहेको बताए ।

प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले सम्मेलनमा त्रिवर्षीय अपराध अनुसन्धानका बारेमा छलफल हुनुका साथै ४ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । २ दिनसम्म चल्ने सम्मेलनमा ३ प्रदेशको १ सय ३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement