सुनको अवैध कारोबार नियन्त्रणमा नेपाल प्रहरी सक्रिय, १ सय ७ जना पक्राउ


काठमाडौं – सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको छ ।

कुनै व्यक्तिहरु सुनको अवैध कारोवारमै संलग्न छन् भने कुन–कुनै व्यक्तिहरु प्रचलित कानुनबारे अनजान भएका कारण कानूनत तोकिएको परिमाण भन्दा बढी सुन साथमा लिएर हिँड्दा समेत पक्राउ पर्ने गरेका छन् । कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोवारमा पक्राउ पर्ने अभियुक्तमध्ये एक हुन् । उनी २०७५ फागुन २ गते पक्राउ परे ।

अवैध रुपमा भारतबाट सुन भित्र्याएर लुकाएको अभियोगमा उनी पक्राउ परेका हुन् । कन्चनपुर शुक्लाफाँटमा उनकै घरभित्र खाल्टो खनी राखेको ५ केजी र पूर्णवाशस्थित शंकर विकको घरमा खाल्डो खनी लुकाएको १८ केजी अवैध सुन सहित उनी पक्राउ परेका हुन् । जम्मा २ कक्षासम्म अध्ययन गरेका उनी भारतमा सवारी चालकको काम गर्थे ।
तिरुवाजस्तै सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम हाल बढ्दो छ ।

चालु आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् । उनीहरुमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना रहेका छन् । गत आर्थिक वर्ष २०७४–०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए ।

चालु आर्थिक वर्षमा पक्राउ परेका व्यक्तिहरुबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ । उक्त सुनमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट ३६ किलो ६ सय ४० ग्राम, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ७ तोला, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतबाट ११ किलो १ सय ८८ ग्राम, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गतबाट १० किलो, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अन्तर्गत १ किलो ७ ग्राम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गतबाट २५ किलो ५ सय १ ग्राम बरामद भएको हो । साथै अवैध सुन कारोबारीबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजश्व असुली भएको छ ।

उक्त असुलीमध्ये सबैभन्दा बढी महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट १२ करोड ९० लाख ३३ हजार ९ सय ३५ रुपैयाँ र सबै भन्दा कम २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ४ लाख ५३ हजार ६ सय रुपैयाँ छ ।

अपराध र अपराधीप्रति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुनी कठोरताको नीति लिएपछि सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ संख्या ह्वात्तै बढेको हो । सो क्रममा सुनको अवैध कारोवार तथा ओसारपसारमा संलग्न व्यक्तिहरु मात्रै होइन मुख्य कारोवारीहरु समेत पक्राउ परेका छन् । यस्ता अपराधीहरु अन्तर्रा्ष्ट्रिय रुपमा समेत सक्रिय रहेको अनुसन्धानले देखाएको छ ।

सुनको अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने, ‘अवैध कारोबारमा संलग्न व्यक्तिहरुको सूचना राखेर पक्राउ गर्ने अभियान तीव्र पारिएको छ । कारोबार भन्दा पनि पक्राउ गर्ने क्रम बढेको हो । कारोबारी पक्राउ र अवैध सुन कारोबार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै नेपाल प्रहरीले मेहनतकासाथ काम गर्दै आएको छ ।’

खुल्ला सिमाना र विमानस्थल लगायतका कारोबार हुने स्थानमा आधुनिक उपकरणको कमीका कारण अवैध कारोवारले प्रसय पाएको छ । अपराधले निरन्तरता पाउँदा चुनौति समेत बढेको छ । आधुनिक प्रविधिको कारण कारोबारीले सुनको अवैध कारोवारमा पनि नयाँ कार्य्विधि र शैली अपनाएको पाइन्छ । जसले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको छ ।

यस्ता आपराधिक क्रियाकलाप रोक्नका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक भएकोले नेपाल प्रहरीको ध्यान यसतर्फ केन्द्रीत छ । चुनौतीको सामनाबारे प्रहरी नायव महानिरीक्षक पोखरेलले भने, ‘यस्ता कारोबारबाट सजिलै र संगठित रुपमा ठूलो मात्रामा आम्दानी हुने लोभले गर्दा कारोबार निरन्तर भइरहने हुनाले चुनौती थपिएको हो । अहिले जुन ढंगले प्रहरीले सक्रियता बढाएको छ, सूचना संजाल बढाएको छ, तीव्रताका साथ काम गरेको छ यसले गर्दा भोलिका दिनमा कारोबारमा ठूलो न्यूनता आउने विश्वास छ ।’

अवैध सुनको कारोवारमा संलग्न व्यक्तिहरुले तस्करीका विभिन्न तरिकाहरु अपनाउने गरेका छन् । प्रायः सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सवटम बनाई लुकाउने, सुटकेशको डण्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने, सुन भन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ ।

यस्ता कारोबार नियन्त्रणबारे अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भने, ‘भन्सारसँग समन्वय गरेर राष्ट्रिय अन्तर्रा्ष्ट्रिय इन्टेलिजेन्स प्रयोग गरी काम गर्छौ । विशेष निगरानी, प्राप्त सूचना, प्रविधिको प्रयोग र समन्वयको आधारमा त्यस्ता कारोबारी फेला पारी पक्राउ गर्न प्रहरी सफल हुँदै आएको छ ।

विविध चुनौतीको वावजुद पनि प्रहरीले ठूलो संख्यामा सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । सुनको अवैध कारोवार नियन्त्रणका लागि प्रहरीले आधुनिक प्रविधिको प्रयोग, विमानस्थल तथा भन्सारमा आवतजावत गर्ने व्यक्तिहरुलाई विशेष निगरानी तथा जाँच गर्ने गरेको छ । आवश्यकता अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन हुन्छन । अनुसन्धानको क्रममा कानुनसम्मत पुरा गर्नुपर्ने सबै प्रक्रिया कार्यान्वयन गर्दै चौविसै घण्टा प्रहरी सक्रिय भएबाट अवैध कारोबारी निरुत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement