आकाशे पुल निर्माण गर्दै काठमाडौं महानगर


काठमाडौँ– महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ । सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ ।

यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उनको भनाइ थियो ।

प्रवक्ता डङ्गोलले भने, ‘माग भएकामध्ये पनि बढी आवश्यक ठाउँमा अहिले बनाएर अरु स्थानमा प्रक्रिया अघि बढाइनेछ ।’ टेकु, त्रिपुरेश्वर लगायतका स्थानमा पनि आकाशेपुल निर्माणको माग भएको छ । ती स्थानमा पनि पहिले अध्ययन गरेर डिजाइनको काम अघि बढाइनेछ । चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो । सडक विस्तारका क्रममा रहेको भन्दै काम नगरिएको प्रवक्ता डङ्गोलले बताए ।

काठमाडौँमा सवारी साधनको चाप बढेसँगै आकाशेपुलको माग बढिरहेको छ । काठमाडौँका सवारी चाप बढी भएका स्थानमा समेत पुल नहुँदा पैदलयात्रु सडकबाटै बाटो काटिरहेका छन् । यसले गर्दा एकातिर सडकमा जाम हुने र अर्कातिर यात्रुलाई बाटो काट्न मुस्किल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement