प्रहरी सरुवा : कांग्रेससँग पालाको पैँचो फेर्दै रास्वपा

प्रहरी सरुवा : कांग्रेससँग पालाको पैँचो फेर्दै रास्वपा


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरीका अधिकृतहरूको सरुवामा नेपाली कांग्रेससँग पालाको पैँचो फेरेको छ । रास्वपा सत्तामा हुँदा सभापति रवि लामिछानेले गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए ।

त्यतिबेला प्रतिनिधि सभा सदस्य रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक प्रहरी निरीक्षकको सरुवामा प्रश्न उठाउँदै के कारणले समयावधि नपुग्दै सरुवा गरिएको हो भन्दै सोधेका थिए ।

आजको संसद् बैठकमा रास्वपा सांसद हरि ढकालले प्रहरीका प्रहरी नायब महानिरीक्षकको के कारणले सरुवा गरिएको हो भन्दै प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद ढकालले प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाबारे प्रश्न उठाउँदै अहिले बनेको नयाँ सत्ता गठबन्धनको उद्देश्य प्रस्फुटन भएको बताए ।

‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिनभित्रमा किन सरुवा गरियो ? किन, के का लागि ? हामीले यो गठबन्धन कुन उद्देश्यका लागि बनेको छ भनेका थियौँ, त्यही उद्देश्यका लागि सरुवा गरिएको छ,’ ढकालले प्रश्न गर्दै भने ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि मन्त्रिपरिषद् विस्तारदेखि नै विभिन्न विवादित पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति दिइएको र ती नियुक्तिको रक्षा गर्न अब्बल कर्मचारीहरूलाई तारोमा पारिएको उनको दाबी थियो । ‘हामीलाई यो सरकारका उद्देश्य थाहा थियो। अहिले देखिन थालेको छ। अनुसन्धानका वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री पद दिएर पुरस्कृत गरियो,’ ढाकालले भने, ‘गुण्डा नाइके, फिरौती, मानव बेचबिखनको आरोप लागेका मान्छेलाई प्रादेशिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।’

ढकालले कांग्रेस महामन्त्री शर्माले गत असार १० गते प्रहरी निरीक्षकको सरुवा गर्ने बेलामा राखेको भनाइ इंकित गर्दै अहिलेको अस्वभाविक सरुवाबारे पहिला जस्तै प्रश्न उठाउन सक्नुहुन्छ भनेर प्रतिप्रश्न गरेका छन्।

‘कांग्रेसका महामन्त्रीज्यूले गत असार १० गते पोस्ट गर्नुभएको थियो, गलत भाष्य सावित गर्नका लागि,’ ढकालले भने, ‘डीआईजी मनोज केसीको सरुवाको बारेमा तपाईं बोल्न सक्नुहुन्छ ? यो सदनमा सक्नुहुन्न।’

त्यतिबेला कांग्रेस महामन्त्री शर्माले प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत प्रहरी महानिरीक्षक सूर्यबहादुर मगरलाई समयावधि नपुगी हटाएकोबारे प्रश्न गरेका थिए ।

‘सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए। गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ। सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए। उनलाई समय नपुगी हटाइयो। सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए। उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पुर्‍याइयो। यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने ?’

यहाँ दुवै सांसदको एउटै उद्धेश्य छ, आफ्ना नेतालाई बचाउने, अर्को पार्टीका नेतालाई खुइल्याउने । ढकाल पार्टी रभापति रवि लामिछानेले गरेका काम राम्रा थिए, अहिलेको गठबन्धनले बिगार्न थाल्यो भन्ने पार्न आज संसद् डिआइजी केसीको सरुवाको विषय उठाइरहेका थिए । शर्माले लामिछानेले आफ्ना कर्तुत लुकाउन अनुसन्धान गरिरहेका प्रहरी निरीक्षकलाई हटाएर आफू जोगिन लागि परे भनेर प्रश्न उठाइरहेका थिए ।