स्थानियवासीको सहयोगमा नेपाल प्रहरी र सशस्त्रका लागि धमाधम भवन बन्दै


भद्रपुर । अस्थायी क्याम्पमा दुःखले बसेर जनताको सुरक्षामा रातोदिन तल्लीन रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीका लागि स्थानीयवासीले सहयोग जुटाएर ब्यारेक र भवन निर्माण गरेका छन् ।

कचनकबल गाउँपालिका–६ मा नेपाल प्रहरीको साँघुरो भवनमा कोचिएर बस्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा स्थानीयवासीले सहयोग जुटाएर गाउँपालिकाको १० लाखको लागतमा कार्यालय र ब्यारेक भवन निर्माण गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा पोस्ट बढाएकाले अहिले चोरी र डकैतीका घटना निमिट्यान्नै भएको छ ।
सुरक्षाका कारण स्थानीयवासीले ढुक्कले बस्न पाए पनि त्यस क्षेत्रमा रहेका सुरक्षाचौकी भने पूर्वाधार अभावमा ढुक्कले बस्न पाएका छैनन् ।

जनस्तरबाट भवन निर्माणका लागि गठित समितिका अध्यक्ष नारद अधिकारी भन्छन, “प्रहरीले हामीलाई रातोदिन खटेर चोर डाँकाबाट सुरक्षा गरेकाले हामी सबै मिलेर प्रहरीको ब्यारेक र अफिस बलियो बनाइदिएका छौँ ।”

जनसहयोगमा निर्मित एकतले दुई कोठे पक्की भवन उद्घाटनको पर्खाइमा रहेको जनाउँदै बनियानी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक उदयशम्शेर राणाले स्थानीयवासीसँग प्रहरीको सम्बन्ध सुमधुर भएको बताए ।

दक्षिणी झापाको भद्रपुर–२ जुनेली बस्तीमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि स्थानीयवासीले १० कट्ठा जग्गा उपलब्ध गराएकामा प्रदेश नं १ सरकारले भौतिक संरचना बनाउन थालेको छ ।

सशस्त्र प्रहरी निरीक्षक महेश कटुवालले अफिस, कमाण्डर भवन, मेसलगायत संरचना निर्माणाधीन अवस्थामा रहेको बताए । उनका अनुसार सो क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेपछि डकैतीका कुनै पनि घटना भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement