प्रहरीमा ३२ एसएसपीको दरबन्दी रिक्त, निर्मला हत्या काण्डमा मुछिएका बिष्ट बढुवा सूचीको पहिलो नम्बरमा


काठमाण्डु – नेपाल प्रहरीको जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ३२ वटा दरबन्दी रिक्त भएको छ ।बुधबार गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेसँगै उक्त पद रिक्त भएको हो ।

समितिले डीआईजी सिफारिस गरेसँगै ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । २०५४ मा सेवा प्रवेश गर्नेहरु राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आएकाको बीचमा प्रतिस्पर्धा छ ।

कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा जितेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् ।

सिद्धिबिक्रम शाह दुई नम्बरमा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ र विमल बस्नेत प्रतिस्पर्धामा छन् ।

सिद्धिविक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए । गणेश चन्द २०५१ चैतमा सेवा प्रवेश गरेका हुन् ।

वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी र दानबहादुर कार्की सहितका अधिकृतहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काविल अफिसरको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement