नेपाल भारत सीमामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान


सुदुरपश्चिम – कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।

‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो । बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो,’ उनले भने ।

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ ।

गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेका थिए । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement