काठमाण्डु-नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ ।
काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमकाअनुसार नमूना परीक्षण गर्दा पोलियो भाइरस पुष्टि भएको हो ।
नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ ।
खोप शाखा प्रमुख डा. गौतमले पोलियो जीवाणु भेटिएसँगै काठमाडौं उपत्यकामा पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरहरुको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डाक्टर गौतमले बताए ।
सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रुपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव छ ।
विशेष पोलियो खोप अभियान सञ्चालन गरिँदै
काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ ।
साउन ९ गते देखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन हुन लागेको हो ।
नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ । मन्त्रालयले थप जानकारीका लागि टोल फ्रि नम्बर १११५ मा फोन गर्न आग्रह गरेको छ ।
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ ।
यस खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनु पर्दछ ।
प्रतिक्रिया