राजनीतिक संकटको कारक राष्ट्रपति र प्रधानमन्त्री

राजनीतिक संकटको कारक राष्ट्रपति र प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले मुलुकको राजनीति जटिल अवस्थामा पुग्नुको मुख्य कारक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका नेताले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्रीको कदम र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाएका हुन्।

राष्ट्र प्रमुख र सरकार प्रमुखको अनधिकृत गतिविधिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै कालो बादल मडारिन पुगेको भन्दै सर्वपक्षीय बैठकमा सहभागी नेताहरूले परिवर्तनको रक्षाका लागि सरकार प्रमुखले मात्र नभएर राष्ट्र प्रमुखले पनि आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने सुझाए। ‘अहिलेको असहज परिस्थिति आउनुमा राष्ट्र प्रमुख र सरकार प्रमुख दुवैको भूमिका जिम्मेवार छ,’ बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने।

उनले अगाडि थपे, ‘तपाईहरूका भूमिकाले २०६२/६३ को जनआन्दोलन र त्यसबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट आएको छ। गणतन्त्रमाथि मडारिएको कालो बादल हटाउन दुवैले आआफ्नो भूमिका सच्याउनुपर्छ।’

दलीय सहमतिबाट अहिले मुलुकमा व्याप्त समस्या समाधान गर्नुपर्ने धारणा नेताहरूले राखे। तर बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुवैले प्रतिनिधिसभा विघटन गर्ने कदम ठीक भएको पुष्टि गर्ने प्रयास गरेका थिए। ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई बदर गरे पनि मुलुक निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गरे।

अहिले पनि संसद् विघटन गरेर नयाँ जनादेशमा जानुको विकल्प नभएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरेका थिए। सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयलाई आफूले अन्यथा नलिएको पनि उनले बताए। राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयत्न गरेको जानकारी दिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने,

‘प्रधानमन्त्रीले फेरि पनि निर्वाचनमा जानुको विकल्प छैन भन्नुभयो। हिजोअस्तिको भन्दा फरक केही कुरा थिएन।’ अहिले निर्वाचन किन र कसका लागि भन्दै अध्यक्ष केसीले भने, ‘यिनै अनुहार आउनका लागि अहिले किन निर्वाचन चाहियो ?’यो समाचार आजको नागरिक दैनिकमा छ ।