ज्ञवाली र पोम्पेओको भेटमा उत्तर कोरिया र ईण्डो प्यासेफिकमा नेपालको भूमिकाबारे छलफल


काठमाडौं – परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका अमेरिकी समकक्षी माइक पोम्पेओबीच मंगलबार वासिङ्टनमा भेटवार्ता भएको छ। भेटका क्रममा दुबै मन्त्रीबीच आपसी सम्बन्ध र सहयोगका बारे चर्चा भएको छ।

भेटका क्रममा पोम्पेओले नेपाल र अमेरिकाबीचको चिरस्थायी र बलियो सहकार्यमा जोड दिदैं दुवै देशको साझेदारी आधारको रुपमा रहेको जनस्तरमै न्यानो सम्बन्धको चर्चा समेत गरे ।

सोही भेटमा धेरै परको उत्तर कोरियाबारे पनि दुई मन्त्रीबीच छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। ‘दुई नेताबीच पाँच सय मिलियन डलरको मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्झौता, उत्तर कोरियासहित विश्वका मुद्दाहरू, स्वतन्त्र, खुला र सम्मृद्ध एसिया प्यासेफिक क्षेत्रमा नेपालको प्रमुख भूमिकाबारे छलफल भयो,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भेटका क्रममा विदेश मन्त्री पोम्पेओले उक्त ऐतिहासिक भेटवार्ताले नेपालसँग अमेरिकाको दह्रो सहकार्यलाई देखाउने बताएका थिए। उनले नेपाल-अमेरिका सम्बन्धलाई थप विकास गर्न थुप्रै सम्भावना रहेकोमा जोड दिएका थिए।

उत्तर कोरियामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। गत जेठ १९ गते सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेट भएपछि उत्तर कोरियाको अनआणविकीकरण प्रक्रिया सुरू भएको छ। उत्तर कोरियाबारे ज्ञवाली-पोम्पेओ भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस
Advertisement