खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने


काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिएका छन् ।

‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’ को समापन गर्दै उनले भने, ‘जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ । त्यसैले तपाईंहरुले जिम्मेवारपूर्ण ढंगले काम गर्नुहोस् ।’

विभिन्न जिल्लाका प्रजिअ र गृह मन्त्रालयका अधिकारी सम्मिलित तालीमका सहभागीलाई सम्बोधन गर्दै गृहमन्त्रीले भने, ‘प्रजिअ र प्रहरी प्रमुखले अपराधीलाई नियन्त्रण नगरी उनीहरुसँग मिलेर काम गरे भने गृह प्रशासनको पनि त्यही रुपमा चित्र जनतामाझ प्रस्तुत हुन्छ । यसतर्फ तपाईंहरु सचेत हुनुहोस् ।’

गृहमन्त्री थापाले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने चेतावनी दिए । उनले भने, ‘तपाईंहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिने गरी काम गर्ने ? यसको जवाफ स्थानीय प्रशासक र स्थानीय सुरक्षाकर्मीले दिनुपर्ने हुन्छ । हामीले ठीक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ ।’

राजनीतिक परिवर्तनसँगै प्रहरी ऐन, सार्वजनिक सुरक्षालगायत ऐन परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी पनि दिए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालीमले व्यावसायिक, स्वतन्त्रतापूर्व र तटस्थ रुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement