लिस्बन – पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा नेपालीले समस्या खेप्नुपरेको छ ।
महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीको गुनासो छ ।
उनीहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन् । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौं नेपाली प्रभावित भएका छन् ।
लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि आप्रवासी मामिला हेर्ने निकाय (आइमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन् । यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो ।
महावाणिज्य दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताए । आवास अनुमति पत्रका लागि पेश गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव बनाएको मुखियाले गुनासो गरे ।
‘यही सेप्टेम्बरको पहिलो साता मेरो बायोमेट्रिक छ । मेरा धेरै साथीहरूको पनि यही सेप्टेम्बरमै बायोमेट्रिक छ । २ वर्षदेखि कार्डको पर्खाइमा थिए । अब त कार्ड बन्ने भयो भनेर खुशी भएको कागजात प्रमाणीकरणको झमेलाले हैरानी खेप्नुपरेको छ,’ मुखियाले दुःख व्यक्त गरे ।
उनले भने, ‘अहिले नेपाली दूतावास पेरिसले प्रमाणीकरण गरिदिने भएपछि केही राहतको अनुभूति गरेको छु । दस्तुर त साह्रै महंगो रहेछ । १२ युरोमा हुने कामको लागि १०० युरो तिर्नुपर्ने भएछ । प्रमाणीकरण भएपछि फेरि मगाउनु पर्यो । त्यसमाथि कुरियर खर्च पनि थपिने भयो । साह्रै झन्झट हुने भयो ।’
बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ । फ्रान्स हुँदै २ वर्षअघि पोर्चुगल आएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ । पेश गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा २ साता रनभुल्लमै बितेको पाण्डेले सुनाए ।
‘प्रमाणीकरणको काम रोकिएपछि नेपालबाट मगाएको प्रहरी रिपोर्ट २०० युरो खर्चेर केही दिनअघि दलालमार्फत भारत पठाउन बाध्य भए । २ हजारमा हुने कामलाई ३५ हजार खर्च गर्नुपर्यो । यो त साह्रै झन्झटिलो र खर्चिलो भयो । त्यसमाथि प्रमाणीकरणको तनावले हैरानी खेप्नुपर्यो । वाणिज्य दूतावास बन्द हुँदा हामीले पो सास्ती भोग्नुपर्यो,’ आफ्ना पीडा सुनाउँदै पाण्डेले भने ।
मुखिया र पाण्डेको जस्तै कागजात प्रमाणीकरणको समस्याले सर्लाहीका बिक्रम आले पनि तनावमा परे । दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या भएको आलेले गुनासो गरे । आवास अनुमति पत्रका लागि बायोमेट्रिकको तयारीमा रहेका आलेले पनि १ साताअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न दलालमार्फत भारत पठाएको बताए । सबै कागजात तयार नै थियो ।
‘अकस्मात् महावाणिज्य दूतावास बन्द हुँदा प्रमाणीकरण कहाँ गएर कसरी गर्ने भन्ने अन्योलमा पारियो,’ उनले भने । कागजात प्रमाणीकरणका लागि भारत पठाउनु पर्दा धेरै खर्चिलो भएको आलेले दुःखेसो गरे ।
यसैबीच फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै पोर्चुगलका नेपालीलाई कागजात प्रमाणीकरणको सेवा दिने जानकारी दियो । जसमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरे बापतको दस्तुर १०० युरो अर्थात् झण्डै १४ हजार ७०० रूपैयाँ लाग्ने दूतावासले उल्लेख गरेको छ ।
दूतावासले भने सोही प्रकृतिको प्रहरी रिपोर्टको भाषा अनुवादसहित प्रमाणीकरण गरेबापत दस्तुर १२ युरो अर्थात् झन्डै १३ हजार ८०० लिने गरेको थियोे । दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरण बापतको दस्तुर चर्को तोकेको भन्दै पोर्चुगलका नेपालीले असन्तुष्टि जनाएका छन् भने लिस्बनबाटै कन्सुलर सेवा पाउनुपर्ने माग गरेका छन् ।
नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमाथि विश्वको जुनसुकै मुलुकमा रहेका नेपालीले सहज र सरल रूपमा अनलाइनको माध्यमबाट प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आवेदन दिन र अनलाइनबाटै पाउन सक्ने व्यवस्था समेत गरेको छ भने उक्त प्रमाणपत्रलाई काठमाण्डुस्थित रहेको कन्सुलर विभागले समेत जम्मा ५०० रूपैयामै प्रमाणीकरणगरी अनलाइनबाटै सहज र सरल रूपमा सेवा उपलब्ध गराउँदै आएको छ ।
पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने पोर्चुगलमा देखापरेको समस्याका विषयमा आफू जानकार रहेको र सो सम्बन्धमा समाधानका लागि प्रयास भइरहेको बताए । ‘त्यहाँ देखापरेको समस्या समाधानका लागि टोली खटाएरै भए पनि कन्सुलर सेवा दिने योजना बनाएका छौं । जतिसक्दो छिटो लिस्बनबाटै कन्सुलर सेवा दिने तयारी गरिरहेका छौं,’ राजदूत भट्टराईले भने ।
प्रतिक्रिया