पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित आज भिडन्त ,कसले मार्ला बाजी ?


विश्वकप – फुटबलअन्तर्गत शुक्रबार पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदै छ । उपाधि दाबेदार मानिएको स्पेन र पोर्चुगलबीचको प्रतिस्पर्धालाई क्रिस्टियानो रोनाल्डोविरुद्ध सर्जिओ रामोसको भिडन्तका रूपमा समेत हेरिएको छ ।

जबकि दुवै स्टार खेलाडी रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मैत्रीपूर्ण खेलमा पोर्चुगलको प्रदर्शन औसत रहे पनि युरो च्याम्पियन पोर्चुगललाई पहिलोपटक विश्वकप जित्नुपर्ने चुनौती रहँदा २०१० पछि दोस्रोपटक स्पेन उपाधि यात्रामा छ । तर, विश्वकप सुरु हुन एक दिनअघि मात्र प्रशिक्षकलाई बर्खास्त गरेको स्पेनको रणनीति कस्तो हुने भन्ने अन्योलता रहने सम्भावना बलियो छ ।

रोनाल्डोविरुद्ध रामोस
क्रिस्टियानो रोनाल्डो र रामोस रियल म्याड्रिडमा रहँदा निकै नजिकका मित्रहरू हुन । तर, शुक्रबार मध्यरातको ९० मिनेट एक अर्काविरुद्ध देशका लागि प्रतिस्पर्धा गर्दै छन । ट्याकलका लागि निकै माहिर मानिने रामोसले रोनाल्डोलाई कसरी रोक्लान् भन्ने चासो सर्वा्धिक बढी छ । त्यस्तै, रोनाल्डोले पनि रामोसलाई चिर्दै गोल गर्नु कम चुनौतीपूर्ण हुनेछैन ।
रियल स्टार रोनाल्डोले स्पेनविरुद्ध गोल गर्न नसकेकाले उनीमाथि थप मानसिक दबाब छ । करिअरका दुई ठूला प्रतियोगिताहरू विश्वकप २०१० र युरो २०१२ मा आमनेसामने भएका पोर्चुगल र स्पेन दुवैका लागि जारी विश्वकपको पहिलो खेल नै अर्थपूर्ण हुनेछ ।

युरो जितेसँगै विश्वकप चुनौती बढ्यो
अहिलेको फुटबल पुस्तामा चर्चित रहेका रोनाल्डोले आफ्नो उत्कृष्ट करिअरमा टिमलाई युरोकप २०१६ दिलाएपछि उनीमाथि पोर्चुगलले ठूलो आशा गरेको छ । विश्व फुटबलमा उपाधिविहीन रहेको पोर्चुगल अहिले रोनाल्डोकै बलमा स्वर्णिम युगमा छ ।

अझ रोनाल्डोको राम्रो फर्मले विश्वकप अभियानमा सफलता पाउनुपर्ने चुनौती पोर्चुगललाई छ । तर, पहिलो खेल नै उसको अघिल्लो चरणको यात्राका लागि सुरुवाती कदम हुने भएकाले उद्घाटन खेलमा नै जित निकाल्नु पहिलो चुनौती हो ।

फर्नान्डोलाई चुनौती
अप्रत्यासित रूपमा स्पेनको राष्ट्रिय टिम सम्हाल्न आइपुगेका फर्नान्डो हिरोरलाई टिमलाई छोटो समयमा नै बुझ्दै विश्वकप च्याम्पियन बनाउनु आफैँमा चुनौतीपूर्ण छ । विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्र राष्ट्रिय टिममा अनुबन्धन भएका हिरोरलाई चुनौतीसँगै सम्भावना भएका प्रशिक्षकका रूपमा हेरिएको छ ।

पूर्व रियल म्याड्रिड कप्तानसमेत रहेका हिरोरले जुलेन लोपेटेगुइको प्रतिस्थापन कसरी गर्छन् यो भने पहिलो खेलले नै केही हदसम्म निर्णय गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement