लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोसिस गरेको छु : अर्थमन्त्री पौडेल

लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोसिस गरेको छु : अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोसिस गरेको बताएका छन् ।

सोमबार काठमाण्डुमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए ।

उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस् अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस् त्यसले लोकप्रिय र राम्रो बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको छ । यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने कोसिस गरेको छु । मैले लोकप्रिय हुनुपर्छ, के गर्दा भइएला, कस्तो कार्यक्रमको छनोट गर्दा लोकप्रिय भइएला भन्ने कुरामा होइन, के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापन गर्न सकिएला, प्रभावकारी तरिकाले खर्च व्यवस्थापन गर्न सकिएला भन्नेतर्फ बढी केन्द्रित भएको छु ।’

एमाले पृष्ठभूमिको अर्थमन्त्रीले बजेट बनाउँदा लोकप्रिय मात्र होइन, अनुशासित बजेट पनि बनाउन सक्छ भन्ने कुरा स्थापित गर्नेतर्फ पनि बढी केन्द्रित भएको उनले बताए ।

बजेट निर्माण गर्दा अनुशासनमा बस्नुपर्ने, मुलुकको वित्तीय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने जस्ता जिम्मेवारीहरू भएको भन्दै सोही जिम्मेवारी र सीमाभित्रबाट बजेट निर्माण गर्ने कोशिस गरेको पनि उनले बताए ।

उनले भने, ‘आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति आएका सबै धारणाको सम्मान गर्न चाहन्छु । आलोचना र बजेटको पक्षमा आएको विचार दुवैप्रति मेरो सम्मान छ । बजेट निर्माण गर्दा अर्थमन्त्री अनुशासनमा बस्नुपर्ने, मुलुकको वित्तीय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, सीमाहरूलाई ख्याल गर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने र त्यो स्रोतलाई प्राथमिकताको आधारमा अधिक प्रतिफलयुक्त तरिकाले खर्च गर्ने कुरा तय गर्नुपर्ने जिम्मेवारीहरू थिए र सोही जिम्मेवारी र सीमाभित्रबाट मैले बजेट निर्माण गर्ने कोशिस गरेको हो ।’