काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को सञ्चालक पदबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेपछि यस निर्णयको कारणबारे चासो बढेको छ ।
वैशाख ११ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयअनुसार नेप्सेले सिडिएससीलाई औपचारिक पत्रसमेत पठाइसकेको जनाएको छ ।
नेप्सेको सहायक कम्पनी सिडिएससीमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं अध्यक्षका रूपमा रहेका छन् भने पन्दाक सञ्चालकको रूपमा कार्यरत थिइन् । तर, पन्दाक २०८१ पुसमा सिडिएससीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार वर्षका लागि नियुक्त भइसकेकी छन् ।
यही दोहोरो भूमिकाले विवाद सिर्जना गरेको स्रोतहरू बताउँछन् । विशेषगरी संस्थापक र सर्वसाधारण शेयरका लागि फरक–फरक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईएसआईएन) लागू गर्ने विषयमा नेप्से र सिडिएससीबीच मतभेद बढ्दै गएको थियो । पन्दाकले उक्त व्यवस्थालाई अघि बढाउँदै धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ नेपाल धितोपत्र बोर्डमा पेश गरेकी थिइन् ।
तर हालसम्म स्वीकृति नपाएको अवस्था छ । दुई फरक आईएसआईएनको विषयमा देखिएको असहमति र नीतिगत मतभेदनै पन्दाकलाई फिर्ता बोलाउने मुख्य कारण हुनसक्ने जानकारहरूको विश्लेषण छ ।
यसबीच, सिडिएससीमा फिर्ता बोलाउने निर्णयको पत्र पाउँदा पनि पन्दाकले उक्त पत्र बुझ्न अस्वीकार गरेको बताइएको छ । स्रोतका अनुसार उनले आफूमाथि भएको निर्णयलाई ‘अनुचित’ भन्दै कानूनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी छन् ।
नेप्सेको यस निर्णयसँगै सिडिएससीको नेतृत्व र नीतिगत दिशाबारे थप अन्योल सिर्जना भएको छ । अब पन्दाकको सीईओ पदमा निरन्तरता रहने वा नहुने भन्ने प्रश्न पनि उठेको छ, जसले पूँजीबजारका सरोकारवालामा थप चासो बढाएको छ ।




प्रतिक्रिया