प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको गोप्य भेट, वामपन्थी एकताको चर्चा

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको गोप्य भेट, वामपन्थी एकताको चर्चा


काठमाण्डु – सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच खटपट बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोप्य भेटवार्ता गरेका छन् ।

गठबन्धनमा खटपट बढेर वामपन्थी एकताको चर्चा चलिरहेका बेला प्रधानमन्त्री र राजदूतबीच भएको भेटघाटलाई गोप्य राखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोमबार बिहान राजदूतले प्रधानमन्त्रीलाई भेटेका छन् ।

चिनियाँ राजदूतले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर लामो भेटवार्ता गरेका थिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता बाक्लिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेससँगको गठबन्धनमा रहँदा बीआरआई परियोजनाको काम अगाडि बढ्न नसकेको, चिनियाँ लगानीका परियोजनामा प्रश्न उठ्न थालेको र अमेरिकी सक्रियता बढेको भन्दै उत्तरी छिमेकीको असन्तुष्टि देखिएको छ ।

यसैबीच भोलि मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत काठमाण्डु आउन लागेका स्रोतले जनाएको छ ।