माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी, के गर्न खोज्दैछन् प्रचण्ड ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाएर सरकार पुनर्गठनको तयारी थालेका छन् ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले फागुन २१ गतेभित्र माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाउँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि मन्त्री हेरफेरबारे कुरा गरे पनि सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले विवादमा मुछिएका कांग्रेसका केही मन्त्री र अर्थतन्त्र सुधार्न नसकेका अर्थमन्त्रीलाई हेरफेर गर्न चाहे पनि सभापति देउवाले सहमति दिएका छैनन् । जसले गर्दा मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको चाहना पूरा हुन सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले सुरुमा आफ्ना मन्त्री फिर्ता बोलाउने र राष्ट्रियसभा अध्यक्षको निर्वाचनपछि मन्त्री हेरफेर गर्ने स्रोतको दाबी छ । सभापति देउवाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउने विषयमा सहमति नदिएका कारण सत्तारुढ गठबन्धनभित्र खटपट बढेको छ । गठबन्धनमा विवाद हुनुका विभिन्न घटनाक्रम भए पनि सरकार पुनर्गठन गर्दा देउवाले महतलाई काखी च्यापेकोमा प्रचण्ड असन्तुष्ट बनेका बताइएको छ ।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनपछि डा. महतकै विषयले गठबन्धन भत्किन सक्ने स्रोतको दाबी छ । प्रचण्ड जसरी पनि महतलाई हटाउन चाहन्छन् तर देउवा जुनसुकै हालतमा पनि महतलाई निरन्तरता दिन चाहन्छन् ।

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले दाबी गरिरहे पनि गठबन्धन नै भत्किने अवस्थामा अध्यक्ष माओवादीलाई दिन कांग्रेस तयार भइसकेको स्रोतको दाबी छ । कांग्रेसको सन्देश बोकेर बालुवाटार पुगेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउन राष्ट्रियसभा अध्यक्ष छाड्न तयार रहेको बताइसकेका छन् ।

कांग्रेसले गठबन्धन जोगाउन त्याग गर्न खोजे पनि प्रधानमन्त्री प्रचण्डले एमालेसँग मिल्न खुट्टा उचालिसकेको स्रोतको दाबी छ । कांग्रेससहितको गठबन्धनमै रहँदा केही महिनापछि प्रधानमन्त्री पद छाड्नुपर्ने तर एमालेसँग मिल्दा सत्ता लम्बिनसक्ने बुझाइ प्रचण्डमा रहेको बताइन्छ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनलगत्तै सत्ता गठबन्धनमा हेरफेर हुने स्रोतको दाबी छ ।

फेरि वाम गठबन्धन बनाएर सरकार चलाउनेबारे प्रचण्ड र ओलीले पटक–पटक छलफल गरिसकेका स्रोतले जनाएको छ । दुवै पार्टी अध्यक्षबीच भएको सहमतिलाई मूर्त रूप दिन माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व मन्त्री वर्षमान पुन तथा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमालले काम गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement