फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी, अनिवार्य उपस्थित हुन निर्देशन


काठमाण्डु – नयाँ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले फागुन महिनाभित्रै विश्वासको मत लिने तयारी थालेका छन् ।

शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले विश्वासको मत लिनेबारे जानकारी दिए । फागुन ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनसक्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई छाडेर प्रचण्ड नेकपा एमालेसँग नजिकिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेका थिए ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तयारीमा छ ।

माओवादी संसदीय दलको बैठकले विश्वासको मत लिने तयारी थाल्न, राजधानी काठमाण्डु रहन र प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सबै सांसदलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement