कुण्ठा र निराशालाई चिरेर आशाको निर्माण गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबार आज बिहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकलाई सम्बोधन गर्दै विकास निर्माणका आयोजना पूरा हुँदैनन् भन्ने निराशा तोड्नुपर्ने बताए ।

‘विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ,’ उनले भने, ‘कुण्ठा र निराशालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ, यसतर्फ गम्भीर रूपले ध्यान दिन समेत म विशेष आग्रह गर्दछु ।’

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा संशोधन गरेर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयावधि परिवर्तन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसबाट नीति तथा कार्यक्रममा पर्याप्त छलफल गर्ने समय हुने र सोही आधारमा बजेट प्रस्ताव गर्न सहज हुने विश्वास व्यक्त गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढ र सबलीकरणको लागि ३ तहका सरकारको बीचमा प्रभावकारी समन्वय कायम गर्न संविधानमा उल्लेखित एकल तथा साझा अधिकारका विषयमा नेपाल सरकारको कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले ३ तहको समन्वयको लागि विद्यमान संवैधानिक र कानूनी संरचना तथा संयन्त्रको सबलीकरण गर्दै प्रभावकारी परिचालनमा विशेष ध्यान दिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement