सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौं : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

२४औं जेल ब्रेक स्मृति दिवसका अवसरमा आज शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।’

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दायाँ कदम चाल्दा होस् या बायाँ कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिनुहुन्न, हामीले लिएको संकल्प त्यहीँ हो, आज पनि त्यहीँ छ ।’

सरकारमा रहँदा ८ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै उनले त्यसलाई आफूले वर्ग संघर्षको निरन्तरता मानेको बताए ।

आफ्नो हिस्साको वर्ग संघर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्ग संघर्ष नै भएको बताए ।

निराशा बाँड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै उनले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरेका छन् ।

सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उल्लेख गर्दै उनले भने, ‘यो समीकरण रणनैतिक छ, दूरगामी छ, मेरो विश्वास छ यो क्रान्तिकारी पनि छ । यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement