भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकहरूको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको हित रक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् ।

मंगलबार दिउँसो भूतपूर्व गोरखा सैनिकहरूको ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तर्क्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ब्रिटिस सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलब, सेवासुविधा, पेन्सन लगायतका विषयमा जेजस्तो विभेद विद्यमान छ, त्यो ‘गेसो’को मात्र नभएर सिंगो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भूतपूर्व गोरखा सैनिकहरूको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर २ देशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो । विश्वभरि रहेका नेपालीहरूको हकहितका निम्ति राज्यले यस्ता मुद्दाहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्छ र त्यसमार्फत् सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रस्ट छु । चाहे खाडी लगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारहरूको सवाल होस्, चाहे भूतपूर्व गोर्खा लगायत विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको कुरा होस्, चाहे जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषय होस्, यसबारे हामीले अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement