रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए ।

‘यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धाम समेत हो,’ उनले भने, ‘यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।’

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए । उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि संघीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाए ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै उनले पर्यटन बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए ।

उनले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गरे । उनले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement