अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं : अध्यक्ष प्रचण्ड

अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं : अध्यक्ष प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन् ।

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व सहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधान सभाबाट संविधान निर्माण र त्यसमा आम सहमति जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’

उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै यसलाई आमजनतामा स्थापित गर्नुपर्ने बताए । ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रूपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारें, जो निर्माण सम्पन्न हुने चरण छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ ।’

आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताए । आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाह गरेको स्मरण गर्दै उनले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताए ।

अध्यक्ष प्रचण्डले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई ऊर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रीबाट मुक्त गरेको बताए । त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलबीच मधेशी दलहरूलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उनले स्पष्ट गरे ।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतिहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए । ‘हामीले भ्रष्टाचारविरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरू कारवाहीमा परेको पहिलोपटक हो,’ उनले भने, ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानून निर्माण ऐतिहासिक कार्य थिए ।’

उनले आर्थिक समृद्धिको सवालमा लिएका महत्त्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको बताए ।

उनले तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभा हुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरक रूपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रूपमा स्थापित गरेको बताए । आफूले अल्पविकसित राष्ट्रहरूको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाइमा उठाएको बताए ।

‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’

अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताए । ‘सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्नेछ ।’

भर्खरै श्रीलंकामा भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरेर वामपन्थी राष्ट्रपति निर्वाचिन भएको घटना विद्यार्थीहरूलाई सुनाउँदै उनले यो अभियान नेपालमा पनि सशक्त रूपमा अघि बढ्ने बताए ।

सरकारमा रहँदा दलाल पुँजीपतिहरूको राइदाइमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताए । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरू मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरू मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ,’ अध्यक्ष प्रचण्डले भने ।