बंगलादेशपछि चीनमा पनि विद्युत् व्यापारको सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड


भरतपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागिपरेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलवार उद्घाटन गर्दै उनले यस्तो बताए । उनले भने, ‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत् उत्पादनमा प्रोत्साहन गरेको छ ।’

उनले अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’

उनले बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावना रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूहरूको जोड बढीभन्दा बढी स्वदेशमा विद्युत् खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे । उनले विद्युत् विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने बताए । विगतभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको छ ।

सबस्टेसन २०७७ असारमा ठेक्का लागेर २०८० साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत १ अर्ब ५२ करोड छ ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करीब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट १ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement