खेलाडीको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको समस्या छिट्टै समाधान गरिने बताएका छन् ।

आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहने समेत म तपाईंहरूमा आग्रह गर्दछु ।’

खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरूसमत समाधान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए ।

‘मैले पटक–पटक जोड दिएर भन्दै आएको छु, खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्,’ उनले भने, ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ ।’

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने प्रधानमन्त्री प्रचण्डले बताए ।

‘पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरुको राम्रो प्रस्तुति देखिएको छ,’ उनले भने, ‘तपाईंहरूको अथक मेहनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ – यसपटक तपाईंहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।’

असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङ्झाओमा १९औं एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement