प्रधानमन्त्री प्रचण्ड र युआनबीच छोङछिङ शहरमा भेटवार्ता


चीन – चीनको १ हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं पार्टीका छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले भेटवार्ता गरेका छन् ।

छोङछिङको स्टेट गेस्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुशी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए ।

छोङछिङ शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरूको उनले प्रशंसा गरे ।

भेटवार्तामा सीपीसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए । उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहेका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै भ्रमणका बेला पनि द्वीपक्षीय हितबारे छलफल भएको बताए ।

उनले आपसी हित प्रवर्द्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गरे ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री एनपी साउँद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डाक्टर बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य लगायत भ्रमण दलका सदस्यहरू सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्ड आज मंगलबारै बिहान बेइजिङबाट छोङछिङ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement