पश्चिम सेती जलविद्युत् परियोजना माओवादीले अघि बढाएको हो : अध्यक्ष प्रचण्ड

पश्चिम सेती जलविद्युत् परियोजना माओवादीले अघि बढाएको हो : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताए ।

‘यो क्षेत्रको आर्थिक विकासका निम्ति ठूलो परियोजनाको रूपमा रहेको पश्चिम सेती जलविद्युत् परियोजना झण्डै साढे ७०० मेगावटको परियोजना हाम्रै पार्टीका ऊर्जामन्त्री पोष्टबहादुर बोगटी हुनुभएको बेलामा भएको हो । सेती परियोजनालाई अगाडि बढाउन चिनियाँ कम्पनीसँग पनि उहाँले सम्झौता गर्नुभएको थियो । तर त्यो पछि रद्द गरियो । पश्चिम सेती जलविद्युत् परियोजना अगाडि बढाउन हाम्रो पार्टी गम्भीर छ । त्यसलाई कुनै न कुनै रूपले सम्पन्न गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौं,’ उनले भने ।

अध्यक्ष प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए । उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ । अहिले यो सम्पन्न हुँदैछ ।’